Popular Posts

Wednesday 22 January 2014

“मान्छे भेडा होइन ।”

                                                                                                                    – श्रेष्ठ सत्य
भनिन्छ, यौटा भेडा भीरबाट हामफाल्यो भने अन्य बाँकी भेडाहरु पनि त्यही भेडाको सिको गर्दै भटाभट भीरबाट फाल हाल्न थाल्छन् । त्यसैले होला आफ्नो बुद्दि र विवेकको किन्चित पनि प्रयोग नगरी अर्काको पछि लाग्ने मानिसलाई भेडाको संज्ञा दिइन्छ । भेडाले त्यसो गर्छ या गर्दैन त्यो त मैले देख्ने मौका पाएको छैन नि तर मानिस भने अनादिकालदेखि नै त्यही गर्दै आइरहेको छ । यस अर्थमा मान्छे भेडा झैं भएको छ । वास्तवमा मान्छे जति भेडा प्राणी अरु पाउन मुश्किल छ ।
मानिस आफूलाई आफैं सबैभन्दा विकसित र सर्वोत्कृष्ट प्राणी भनेर गर्व गर्दछ । तर मान्छे भेडा भन्दा केही पनि फरक छैन । बरु भेडाले आफ्नो केही अक्कलको प्रयोग गर्ला तर मानिस थोरै भन्दा थोरै पनि आफ्नो बुद्दि, विवेक र अक्कलको प्रयोग गर्न असमर्थ छ । खालि अर्काको पछि लागेर नै मानिसले आफ्नो अमूल्य जीवन खेर फालिरहेको छ । आफूलाई आफैं सबै भन्दा बुद्दिमान प्राणी भन्न रुचाउने मानिस भेडा जस्तै आँखा चिम्लेर अर्काको पछि मात्र लागिरहेको छ र यसो गर्नुलाइै नै उसले आफ्नो पुरुषार्थ ठानिरहेको छ । मानिसले भेडा हुन छाडेर अलिकति मात्र आफ्नो बुद्दि, विवेकको प्रयोग गरिदिएको भए आज यो संसार अर्कै हुने थियो । अशान्ति, हिंशा, असुरक्षा र आतंकको बदला यो धर्तीमा शान्ति, सद्भाव, प्रेम र अमनचयन कायम भएको हुने थियो ।
आज दिन दुगुणा, रात चौगुणा पृथ्वीमा अशान्ति, असुरक्षा, हिंशा र आतंक मौलाउँदै गइरहेको छ । मानिस मानिसबीचकै युद्दका कारण आज मानव अस्तित्व नै संकटमा फस्दै गइरहेको छ । यसका निम्ति प्रमुख रुपमा मानिसको भेडा प्रवृत्ति नै जिम्मेवार रहेको छ । भेडाले अर्को भेडालाई मार्दैन तर मानिसलाई आज सबैभन्दा बढी खतरा छ त केबल मानिसबाटै । यस अर्थमा मानिस भेडा भन्दा पनि निम्न स्तरको प्राणीमा खस्किन पुगेको छ । मनुष्य जातीको इतिहाँसलाई पल्टाएर हेर्ने हो भने र उसको वर्तमान अवस्थालाई नै पनि नियालेर अध्ययन गर्ने हो भने पनि अनादि कालदेखि नै मानिसहरुले मानिसकै बिरुद्द अनेकौं हिंसात्मक लडाइँहरु लड्दै आइरहेको छ । यो लडाइँको आधारलाई केलाएर हर्ने हो भने मानिसको भेडापन नै यसको लागि दोषी रहेको छ । मानिसहरु प्राचीन कालदेखि वर्तमान कालसम्म पनि धर्म, जात, भाषा, वर्ग, दल, वर्ण, राष्ट्र र क्षेत्र आदिको नाममा एक अर्कालाई मर्न र मार्न कम्मर कसेर लागिपरेको छ । मानिसलाई आफ्नो व्यक्तिगत हैसियत भन्दा पनि सामूहिक हैसियत बढी नै प्यारो लाग्ने गरेको छ । त्यसैले मानिसको मित्रता र शत्रुताको आधार पनि व्यक्ति भन्दा पनि बढी समूह नै हुने गरेको छ । मानिसले यसरी नै समूहको पछि लागेर कयौं निर्दोष मानिसहरुको ज्यान लिइरहेको छ ।
वास्तवमा गहिरिएर बुझ्ने हो भने त एक मानिस कुनै पनि जात, धर्म, भाषा, वर्ग, वर्ण वा दलमा पर्नै सक्दैन । ऊ एक स्वतन्त्र व्यक्ति हो र उसलाई कुनै पनि वर्ग या समूहमा राख्नु भनेको उसको लागि घोर अपमानको विषय हो । मानिसले आफ्नो व्यक्तिगत अस्तित्वलाई अस्वीकारी समूह र झुण्डको पछि लाग्नु भनेको उसको लागि आत्महत्या गरे जस्तै हो । युगौंदेखि मानिसले एकार्काको सिको गरेर व्यक्तिगत अस्तित्वको सर्वनाश पारिरहेको छ । यसको मतलव ऊ भेडा झैं अन्य भेडाको पछि लागेर भीरबाट हामफालि नै रहेको छ निरन्तर निरन्तर । मानिसले आफ्नो व्यक्तिगत भन्दा सामूहिक अस्तित्वलाई प्राथमिकता दिनु भनेको उसले आफ्नो शक्ति, सामथ्र्य र प्रतिभालाई ओझेलमा पार्दै भेडा हुनलाई सहर्ष राजी हुनु सरह नै हो । आफ्नो निश्चित समूह या दलमा प्रचलित मान्यता मात्रै अन्धानुकरण गर्दै आफ्ना सारा बुद्दि, विवेक माथि बिर्को लगाउनाले नै आज मानिस उसको नजरमा आफू इतर समूहको लाग्ने सबैलाई जस्तोसुकै हिंसा गर्न पनि उद्दत रहेको छ । चाहे त्यो समूहको मानिस जतिसुकै निर्दोष र निर्बल किन नहोस् । यसको ज्वलन्त उदाहरणका लागि रुआण्डामा सन् १९९४ मा लाखौं निर्दोषहरुको ज्यान जाने गरी भएको जातीय हिंसा, केन्याको वेस्टगेटमा धर्मको नाममा गरिएको निहत्था र निर्दोष मानिसहरुको हत्या अनि यस्तै जाती र धर्मका नाममा संसार भरि नै भइरहेको लडाइँहरु हेर्दा यी केही गरी पनि एक विवेकशील मानव जातिले गर्न सक्ने काम हुँदै होइन । हिंस्रक भन्दा पनि हिंस्रक पशुले पनि आफ्नो केही हानी नगरी अरु कसै माथि पनि आक्रमण गर्दैन । तर भेडो मानवजातीले अनादिकालदेखि नै यस्तै विभिन्न बहानामा निर्दोष, निहत्था नागरिकहरुको कत्लेआम गर्दै आइरहेको छ । यसरी आफ्नो व्यक्तिगत मर्यादालाई बन्धकमा राख्दै कुनै पनि न्ििरश्चत जाती, धर्म, वर्ण, वर्ग या राष्ट्र र क्षेत्रभित्रको झिनो र भ्रमपूर्ण रेखाभित्र आबद्द रहन रुचाउनु भनेको मानिसहरुले आफ्नो निहीत प्रतिभा र क्षमतालाई आफ्नै हातले नष्ट पार्नु मात्रै हो । तर अफ्शोचको कुरा त यो छ की मानिसले यसो गर्नुमा नै आफ्नो महान् पुरुषार्थ ठानिरहेको छ । अधिकतम मानिसहरु यसै भ्रमपूर्ण घेरामा बाँधिएर आफ्नो व्यक्तिगत अस्तित्वलाई नामेट पारिरहेका छन् ।
मानिसको दैनिक क्रियाकलापलाई नियालेर हेर्न हो भने पनि मानिस आफ्नो प्रत्येक गतिविधिमा ऊ भेडो नै भइरहेको हामी सहजै आंकलन गर्न सक्छौं । परापूर्व कालदेखि नै मानिसहरु भगवानलाई पूजा गर्ने नाममा मन्दिर, मस्जिद या चर्च जाने गरिरहेको पाइन्छ । केवल एक चलन र परम्पराको रुपमा मात्रै । आजसम्म मन्दिर मस्जिद गएर कसैले न त देवी देवताको दर्शन नै पाएको छ न न कुनै दैवी लाभ नै प्राप्त गरेको छ तैपनि मन्दिर मस्जिद जाने क्रममा कति पनि कमि आएको छैन नि । यस्तो किन भइरहेको छ त ? मानिस भेडा हुनुको अर्को ज्वलन्त नमूना होइन र यो ? मन्दिर, मस्जिद गएर कसैले भगवानको दर्शन र वर पाएको छैन नि तथापि ऊ भेडा झैं अर्काको सिको गर्दै प्रत्येक दिन मन्दिर या प्रत्येक आइतबार चर्च जान छाड्दैन । यो मानवजातिका लागि मात्र हास्यास्पद र अत्ति लज्जास्पद कुरा हो तर भेडो मानिस त्यसैलाई दोहो¥याइरहेको छ – हर दिन हर घडि । त्यसैगरी मानिसलाई आफू जुन समुदायमा जन्म्यो, त्यही समुदाय सर्वोत्कृष्ट लाग्ने गर्दछ । हिन्दूलाई हिन्दू समुदाय, मुसलमानलाई मुसलमान अनि इसाइलाई इसाइ नै राम्रो लाग्ने गर्दछ । यसरी आफ्नो विवेकको प्रयोग नगरी आफू जुन समूहमा प¥यो त्यसैको वकालत गर्दै हिंड्नु भनेको मान्छेले आफू भेडोको घेराबाट बाहिर निक्लिन नखोज्नु नै हो । आज जो मानिस अल्लाहको नाममा ज्यान दिन तयार छ त्यही मानिस इसाइ परिवारमा जन्मेको भए इसामहिस या क्रसको नाममा ज्यान दिन तयार हुन्थयो । यसको मतलब त यही हो की उसको छनौट उसको परिवारले पहिल्यै तय गरिदिइसकेको छ र उसको विवेकको कुनै अर्थ नै रहेन । सबै मानिस यसरी नै परिवार, परम्परा संस्कार आदिका पछि भेडा जस्तै लागिरहेको भान हुन्छ ।
आज मानव समाजमा भइरहेको प्रतिस्पर्धा र आपसी खिचातानीलाई हेर्ने हो भने पनि मानिसले प्रतिपल अर्काकै पछि लागेरै व्यर्थैमा आफ्नो मेधा, मेहनतको घोर दुरुपयोग र क्षति गरिरहेको छ । जसरी हुन्छ अरुभन्दा अघि पर्ने, अरुलाई उछिन्ने चाहे त्यो धनदौलतकै संकलनमा होस् या पद र प्रतिष्ठाकै दौडमा किन नहोस्, मानिसको परिश्रम र लगानीको आधारशीला ऊ आफैं नभई अन्य दोश्रो या तेश्रो व्यक्ति बन्ने गर्दछ । फलानाले चार तल्लाको घर बनाइसक्यो मैले पाँच तलाको किन नबनाउने ? तिलनाले करोडौं कमाइसक्यो आफूले कहिले कमाउने ? अर्काले डाक्टर पढिसक्यो, आफू कहिले पढ्ने ? यसरी मान्छे आफ्नो जरुरत, आवश्यकता र सामथ्र्य भन्दा पनि अरुकै देखासिकी गर्दै र अर्कालाई देखाउनकै लागि मात्रै पनि आफ्नो सारा समय, शक्ति मात्र होइन जीवन नै दाउमा लगाउन पनि पछि पर्दैनन् । बबूरो मानिस कति पनि सचेत छैन की उसले आखिर यो सबै किन र कसको लागि गरिरहेको छ भनेर । अर्काकै देखासिकी, लहैलहै र अनावश्यक प्रतिस्पर्धामा उत्रेर मानिस खाई, नखाई भोलिको लागि करोडौं कमाउने होडमा लागेर आजको सुवर्ण समयलाई त्यत्तिकै खेर फालिरहेको छ । औसत मानिसहरु त्यो भोलिको कपोलकल्पित सुख र सम्पन्नताले भरिएको दिनको मुखै देख्नै नपाई अर्थहीन संघर्ष गर्दागर्दै यो संसारबाट सदाका लागि बिलाउन पुग्दछन् । यसरी आज अरबौं मानिसहरु धन, दौलत, नाम र प्रतिष्ठाको पछि पछि जिउज्यानै लगाएर कुदिरहेका छन् । यस्तो देख्दा लाग्छ की मानिस अचेतमै भेडा जस्तै भीरबाट हामफालिरहेका छन् ।
मानिसले वास्तवमै सर्वोत्कृष्ट प्राणी बन्ने हो भने उसलो यो भेडा प्रवृति त्याग्नै पर्दछ । मानिसलाई कुनै दल, समूह, जात, धर्म या वर्णको सदस्यको रुपमा भन्दा पनि एक आफैंमा पूर्ण व्यक्तिको रुपमा सम्मान र स्वीकार गर्न सिक्नुपर्दछ । मानिस यो संसारमा कुनै पनि समूहमा जबर्जस्ती घिच्चिनका लागि आएको होइन बरु ऊ त आफैं एक स्वतन्त्र व्यक्तिको रुपमा व्यक्तिगत दायित्व पूरा गर्नकै लागि आएको हो । जसरी एक बिउलाई रोपेपछि त्यसबाट सुन्दर फूल र फलसहितको वृक्ष तयार हुन्छ । त्यसैगरी प्रत्येक व्यक्तिमा पनि आफ्नै विशिष्ट योगदान दिन सक्ने क्षमता र सम्भावना रहेको हुन्छ तर हामीले जन्मेदेखि नै उसलाई धर्म, संस्कार, परम्परा आदिको नाममा आफ्नै अन्ध प्रवृति लाद्दै उसमा रहेको प्रतिभाको हत्या गर्दै अन्ततः उसलाई आफू जस्तै अचेत भेडामा परिणत गरिदिन्छौं । एक बालक ऊ आफ्नै रुपमा हुर्कंदै, बढ्दै, फुल्दै फक्रँदै आफ्नै विशिष्ट फल र फूलको रुपमा विकसित हुनका लागि यो धर्तीमा अवतरण गरेको हुन्छ तर उसको सारा सम्भावनालाइै मार्दै उसलाई हामीले आफू जस्तै कृत्रिम रबरको सौन्दर्य र सुगन्धविहीन फूलमा परिवर्तन गरिदिन्छौं । त्यसैले त आज प्रत्येक मानिसको जिन्दगि यति रुखो, उदास, उजाड र निरस भएको हो ।
यदि यो संसारमा साँच्चै सुख शान्ति, प्रेम र अमनचयनको स्थापना गर्ने हो भने सर्वप्रथम प्रत्येक मानिसले भेडा बन्न र बनाउन अस्वीकार गर्नुपर्दछ । प्रत्येक अभिभावक र शिक्षकशिक्षिका अनि समाजका सदस्यहरुले आफ्नो बच्चाहरुप्रति अत्यन्तै इमान्दार बन्नु जरुरी छ । आफूलाइै अर्थहीन र अस्पष्ट लागेका कुराहरु बालबालिकालाई सिकाउनु र लाद्नुको बदलामा उसलाइै आफ्नै चेतना र विवेकको प्रयोग गर्न सिकाउनुपर्दछ । सबै प्रतिस्पर्धाहरु अस्वस्थ नै हुन्छन् । आफ्नो बच्चालाई अरुको देखासिकी गर्ने र अरुसँग दाँज्ने बानी त्यागेर उसको आफ्नै निहीत विशिष्ट प्रतिभालाई फुल्ने र फक्रने मौका दिनुपर्दछ । यसो गरेमा मात्र हामीले सही अर्थमा उनीहरुप्रतिको जिम्मेवारी र दायित्व पूरा गरेको ठहरिनेछ । यो जगतलाई आज अन्धानुकरण गर्ने भेडा होइन वास्तवमै सर्वोत्कृष्ट र विवेकपूर्ण मानिस चाहिएको छ । यस्तो विवेकशील व्यक्तिबाट मात्र यो संसारको सकारात्मक रुपान्तरण सम्भव छ ।

दोलखा, नेपाल

Friday 17 January 2014

“विदेशको वियोग”

श्रेष्ठ सत्य

जब साँझको साँडे छ बज्थ्यो, म काममा जानको लागि पश्चिमोत्तर लण्डनको अलपर्टन रेल स्टेशनमा पिकाडिल्ली लाइनको पूर्वतिर जाने रेल चढ्न आइपुग्थें । मसँगै काममा जानका लागि नेपाली बहिनीहरु सुष्मा र सविना पनि त्यही स्टेशनमै रेल कुरिरहेका हुन्थे । हामी तीनै जना पश्चिम लण्डनको ह्याम्मरस्मिथ भन्ने ठाउँमा एउटै कम्पनिका लागि काम गथ्र्यौं । अलपर्टनबाट रेल चढेर इलिङ कमन पुग्ने बित्तिकै हामीसँगै काम गर्ने मोरिससका गणेश पनि त्यही रेलमा हामीसँगै यात्रामा सहभागी हुन आइपुग्थ्यो । गणेश प्राय एक्लै हुन्थ्यो भने कहिलेकाहीं ऊ आफ्नी श्रीमति इन्दिराको साथमा हुन्थ्यो । यसरी नै हामी सबै सहकर्मी साथीहरु बेलुकीको साँडे सातदेखि पौने आठ भित्र हाम्रो कर्मस्थलमा पुगिसकेका हुन्थ्यौं र बेलुकी आठ बजेदेखि भोलिपल्ट विहानसम्मै आ–आफ्नो काममा तल्लिन हुन पुग्थ्यौं ।
नेपाली भएको नाताले काम गर्ने ठाउँमा सविना, सुष्मा र म खुबै मिल्ने गर्दथ्यौं । हामीहरुबीच काम लगायत घरायसी कुराहरुको पनि आदान प्रदान हुने गर्दथ्यो । यौटै कम्पनिमा भए पनि सुष्मा र सविना एकै युनिटमा काम गर्थे भने म भने अर्कै छुट्टै युनिटमा थिएँ । मोरिससका गणेश दम्पति पनि सुष्मा र सविनाकै युनिटमा काम गर्थे । गणेशकी श्रीमति इन्दिरा प्राय दिउँसोको समयमा काम गर्थी र उनी कहिलेकाहीं मात्र रातीको काम गर्दथी तर गणेश चाहिं हामी तीन जना जस्तै सधैंभरि राती नै काम गर्ने गथ्र्यो । 
सुष्मा र सविना गणेशसँग साह्रै मिल्थे । म भने शुरुका दिनहरुमा गणेशको “हेलो हाय”को मात्र साथी भए पनि पछिल्ला दिनहरुमा उनीहरुकै कारण म पनि गणेशसँग राम्रैसँग बोल्न थालेको थिएँ । त्यसो त गणेश मोरिसियन भए पनि झट्ट हेर्दा ऊ ठ्याक्कै नेपाली जस्तै देखिन्थ्यो । उसको बानी व्यवहार पनि औसत नेपालीहरुसँगै मिल्ने गथ्र्यो । मझौला कदको, गहुँगोरो, प्रायजसो नर्थफेसको बाक्लो ज्याकेट लगाउने अनि कम बोल्ने गणेश, असाध्यै सोझो, मिलनसार र इमान्दार स्वभावको थियो । सुष्मा र सविनासँगको भेटमा गणेशको बारेमा पनि हामी कुरा गर्ने गर्दथ्यौं । उनीहरु मलाई सधैं सुनाउने गर्दथे– “गणेश अत्यन्तै सोझो र सहयोगी छ । काममा जसले गाली गरे पनि उसको बारेमा नराम्रो कुरा गरे पनि ऊ खालि हाँसि मात्र रहन्छ । जहिले ड्युटी साट्न भने पनि नाइँ कदापि भन्दैन । काममा जे जस्तो सहयोग मागे पनि खुरुखुरु गरिदिन्छ ।” आदि । त्यसैगरी गणेशकी श्रीमति इन्दिराको बारेमा पनि उनीहरु मसँग कहिलेकाहीं भन्ने गर्थे – “गणेशकी बुढीलाई आफू अलिक ठूली पल्टिनुपर्छ । नजानि नजानिकनै पनि खुबै हिन्दि बोल्नुपर्ने उनलाई ।” यसो भन्दै उनीहरु इन्दिराले भन्ने गरेका अनौठो हिन्दि शब्दावलीहरुलको स्मरण गर्दै पेट मिचिमिचि हाँस्ने गर्दथे । 
त्यसो त गणेश करिब ५ वर्ष अघि नै विद्यार्थीको रुपमा बेलायत आएको थियो । त्यसको केही महिना पछि नै इन्दिरा पनि आफ्ना २ छोरी र १ छोरोलाई आफ्नी आमासँग मोरिससमै छाडेर गणेशको डिपेण्डेण्टको रुपमा गणेशलाई साथ दिन बेलायत आइपुगेकी थिई । दुइजनाको जोडी साहै्र मिलेको, सुहाएको र अत्ती नै मायालु थियो । गणेशको इन्दिराप्रति निश्छल र निस्वार्थ प्रेम थियो । सविना मलाई सुनाउने गर्थी – “दाइ, गणेश त आफ्नो ब्रेकको समय पनि केही नखाएर, आराम पनि नगरेर बुढीसँगै फोनमा कुरा गरिरहन्छ ।” 
”गणेश – इन्दिरा होइन, मुकुन्द– इन्दिरा हुनुपर्ने हो यो जोडीको नाम” म थप्ने गर्थे ।
सविना मेरो कुरामा हो मा हो मिलाउँदै मरिमरि हाँस्थी । 
“गणेश यति धेरै सीधा छ, बुढीसँग उसले कसरी कुरा गर्छ होला हगि ?” म कहिले काहीं सविना र स ुष्मासँग यस्तो प्र्रश्न गर्ने गर्थें । मेरो प्रश्न स ुनेर उनीहरु जोडजोडले हाँस्थे । 
त्यस्तैमा आफ्नो परिक्षा आएकोले पढाइका कारण काम गर्न नभ्याउने भन्दै सविनाले त्यो काम छाडी । अब हामी तीनजना नेपाली मध्ये पनि एक घटेर सुष्मा र म हामी दुइजना मात्र नेपाली त्यस कम्पनिमा बाँकी रह्यौं । त्यसको केही समयपछि नै सुष्मा पनि दशैंको मौका पारेर डेढ महिनाको छुट्टि लिएर नेपालतिर प्रस्थान गरी भने केही समयका लागि मैले एक्ला एक्लै नै काममा आवतजावत गर्नुप¥यो । त्यसैबेलामा प्रायजसो गणेशसँग मेरो रेलमा भेट र कुराकानी हुने गरेकोे थियो । त्यसबेला उसले मलाई यो जानकारी गराएको थियो कि मोरिससमा पनि थुप्रै संख्यामा हिन्दूहरु र हिन्दू धर्मावलम्वीहरु भएको र उनीहरुले पनि नेपालीहरुले जस्तै हिन्दूहरुले मनाउने नवरात्र, दिपावली, कृष्णाष्टमी जस्ता प्रायजसो सबै पर्वहरु धुमधामले मनाउने गर्दा रहेछन् । यो कुरा त्यसैबेला मैले गणेशबाट थाहा पाएको थिएँ । मोरिससमा गणेशको परिवार मध्यम वर्गको भए पनि ऊ साहु ऋण गरेर पाँच वर्ष अगाडि बेलायत आएको रहेछ । उसले त्यसबेला मलाई बताएको थियो । बेलायतमा पैसा कमाउनकै लागि विद्यार्थी भिसामा आए पनि बुढाबुढीले कमाएको पैसा कलेजको फी तिर्न र केटाकेटीलाई पढाउन पनि मुस्किलले पुग्ने हुँदा आफूले बेलायत आउनलाई लिएको ऋण अझै पनि बैंकलाई तिर्न बाँकी रहेको कुरा पनि उसले बारम्बार चिन्तित हुँदै मलाई बताएको थियो । तर त्यसभन्दा पनि चिन्ता उसलाई अर्कै कुराको थियो । गणेशले आफ्नो विद्यार्थी भिसा थप्नको लागि होम अफिसमा आवेदन र सबै कागजातहरु पठाइसकेको भए पनि सात आठ महिना भइसक्दा पनि उसको भिसाको अत्तोपत्तो थिएन । मेरो कतिपय साथीहरुको भिसा एक वर्ष पछि पनि छाप लगाएर आएको मलाई थाहा थियो र म यही कुरा बताएर गणेशलाई आश्वस्त पार्ने गर्थें कि उसको पनि त्यसै गरी ढिलो भए पनि भिसा लागेरै आउनेछ भनेर । 
त्यसैबेला गणेशले बारबार मलाई यो कुरा पनि बताउँदै आएको थियो – “मेरो साथी, तपाइँलाई नढाँटी भन्नुपर्दा मलाई आफ्नो देश छाडेर अन्त कतै जाने इच्छा कदापि थिएन । मलाई त जहाँ जन्मे त्यहीं नै दुख, सुख जेनतेन गरेर भए पनि जीवनको अन्तिम पलसम्म पनि रमाएरै बाँच्ने धोको थियो । तर इन्दिराले मलाई उहाँ बस्नै दिइनन् । खालि सबै जना विदेश गएर करोडौं कमाइसके, हाम्रो भने जीवन यस्तै दुखमै बित्ने भयो भन्थी । इन्दिराको सुख र रमझमको जीवनको महत्वाकांक्षाकै कारण म बलिको बोका जस्तै घिच्चिंदै बिदेशिन बाध्य भएँ । यहाँ पनि सबै ठिकै चलिरहेको थियो, खालि आफ्नो बालबालिकाहरुसँग छुट्टिएर बस्नुपरेको पीडा हो । त्यति ऋण तिर्न सके त म त फर्केर आफ्नै मातृभूमिमा आफ्नो बच्चाहरुसँगै खेल्दै, रमाउँदै बाँकी जीवन गुजार्छु तर यो भिसाले मलाई डुबाउला जस्तो छ ।” पछिल्ला दिनहरुमा ऊ मलाई आफ्नो सुखदुख एक आत्मीय मित्रसँग जस्तै पोख्ने गर्दथ्यो । गणेश अत्यन्तै जिम्मेवार र व्यवहारिक व्यक्तिको रुपमा पाएको थिएँ मैले । 
सुष्मा नेपालबाट फर्केर काम शुरु गरेको एक दुइ दिन पछि नै उनले मलाई एक अनौठो र अनपत्यारिलो समाचार यसरी सुनायी – “दाइ, यो कुरा कसैलाई नभन्नुहोला विशेष गरी गणेशलाई त कुनै हालतमा पनि भन्नु हँुदैन । गणेशको बुढी इन्दिरा त आजकाल त्यो हाम्रो युनिटको त्यो बुढो अफ्रिकन सुपरभाइजरसँग पो लागेको छ रे । प्रत्येक दिन बिहान त्यो बुढोले उनलाई आफ्नै कारमा कामसम्म लिएर आउँछ रे । यो कुरा थाहा पाएर म्यानेज्मेण्टले त्यो अफ्रिकनलाई चाहिं तपाइहरुको युनिटमा सरुवा गरेको रहेछ । तर गणेशलाई भने कसैले थाहा दिएको रहेनछ ।”
“कहाँ गणेश जस्तो माया गर्ने पति अनि तीन जना बच्चाकी आमाले त्यस्तो काम गर्ला र ? खै म त पत्याउन्न तिम्रो कुरा ।” मैले सुष्माको कुरामा अविश्वास जनाएको थिएँ ।
पर्सिपल्ट बिहान काम सकेर घर फर्किने क्रममा काम गर्ने ठाउँभन्दा केही परको कफी पसलमा इन्दिरा र त्यो बुढो म्यानेजर चुम्बन गर्दै गरेको दृश्य आफ्नै आँखाले देखेपछि सुष्मा र म दुबै गणेश र उसका तीन बच्चाहरुको भविष्यको कल्पना गर्दै सशंकीत भएका थियौं । उनीहरु दुइ जनालाई यस्तै अवस्थामा धेरै सहकर्मी साथीहरुले पनि धेरै पटक देखिसकेका रहेछन् । गणेशले यो दृश्य नदेखेको होस् र देख्नु पनि नपरोस् । हामी बाटो भरि यही कामना गर्दै घर पुगेका थियौं त्यस दिन बिहान । 
त्यसै ताका बेलायतको मेट्रो, इभिनिङ स्टान्डर्ड, द सन, डेली मेल जस्ता पत्रपत्रिकाहरु सबै युरोपभरि भयावह रुपमा फैलिएको आर्थिक मन्दीका समाचारहरुले भरिएका हुन्थे । स्पेन र ग्रीसको अर्थतन्त्र धराशयी भएको समाचारहरुले दिनदिनै पत्रपत्रिका र रेडियो, टेलिभिजन र इन्टरनेटहरुमा प्रमुख स्थान पाइरहेको थियो । यस्तैमा युरोपभरि फैलिएको आर्थिक मन्दीले बेलायतलाई पनि नराम्ररी प्रभाव पारिरहेको भन्दै बेलायती सरकारले विदेशीहरुको आगमन र बसाइमा कटौति गर्नका लागि कडा नियमहरु लागू गर्दै जान थाले पछि साहू ऋण गरी बेलायत पसेका प्राय सबैको भविष्य अनिश्चित र असुरक्षित बन्न पुगेको थियो । बेलायती सरकारले मान्यता प्राप्त शैक्षिक संस्थाहरुलाई विभिन्न खोट देखाउँदै उनीहरुको लाइसेन्स खारेज गरिरहँदा विहानसम्म मान्यता प्राप्त सूचिमा रहेका कलेजहरु बेलुकी त्यो सूचिबाट हटिसकेकेका हुन्थे । यसरी विदेशी विद्यार्थीहरु हरेक पल आफ्नो शैक्षिक संस्थाको पनि कुन बेला मान्यता खारेज हुने हो भन्दै सशंकित भएर बस्नु परिरहेको थियो । यस्तो अवस्थामा नयाँ कलेज खोजेर भर्ना हुन महंगो शुल्कको कारण तत्काल सम्भव नहुने र भए पनि त्यो नयाँ कलेजको पनि लाइसेन्स कुन बेला उड्ने हो ठेगानै हुन्नथ्यो । यसै कारण मेरै धेरैजसो साथीहरु स्वदेश फर्किसकेको थिए भने कतिपय साथीहरु अनेक कष्ट र जोखिम झेलेरै कलेजलाई बुझाउने पैसा दलाललाई खुवाएर फ्रान्स, स्पेन, पोर्चुगल आदि युरोपका अन्य मुलुकहरुतिर पसिसकेका थिए । यसरी आफ्नो घरखेत र भएभरको जायज्येथा बेचेर या धरौटी राखेर महत्वाकांक्षी सपनाहरु बोकेर दक्षिण पूर्वी एसिया, अफ्रिका र अन्य गरिब मुलुकहरुबाट चर्को व्याजदरमा ऋण लिएर मोटै रकम खर्च गरेर बेलायत पसेका सबैजनाको सपना चकनाचूर र भविष्य भयावह बन्न पुगेको थियो । ती सबैजसोको लगानी र मेहनत खेर गएको थियो । अन्ततः आफ्नो देशमा पनि सबैथोक गुमिसकेको र सपनाको देशमा पनि उनीहरुलाई टिक्नै नदिइएपछि सबैजना घर न घाटको हुन पुगेका थिए । 
यस्तैमा गणेशको भिसा पनि होम अफिसबाट अस्वीकृत भएर आइसकेको थियो । गणेश पनि पूनः भिसाको लागि आवेदन दिने या मोरिसस नै फर्किने भन्ने दोधारमा थियो । भन्छन् मानिसको जीवनमा विपत्ति एक्लै आउँदैन, बटालियनमा आउँछ । गणेशको जीवनमा पनि यस्तै भएको थियो । श्रीमतिको अर्कैसँग चक्कर चलिरहेको बेलामा बेलायतको भिसाले पनि उसलाई साथ दिएन । शायद बिरानो माटोमा भएर होला, उसको आफ्नै मान्छे पनि पराइ भएको थियो, तर गणेशलाई यो कुरा थाहा थियो कि थिएन, यो कसैलाई पनि थाहा थिएन । 
त्यसै बेलामा यौटा अर्कै राम्रो कम्पनिमा मलाई काम मिलेकोले मैले त्यो काम छाड्नुप¥यो । नयाँ काममा प्रारम्भिक तालिम, गोष्ठि अनि नयाँ काम सिक्न र नयाँ ठाउँमा घुलमिल हुन दुइ तीन महिना नै लाग्यो मलाई । त्यस अवधिमा मैले सुष्मा, सविना र अन्य पुराना सहकर्मी साथीहरुसँग कुनै पनि प्रकारको संचार सम्पर्क गर्न सकिन । त्यसो त नयाँ ठाउँमा मैले पाँच, छ दिन नै काम गर्नु परेकोले पनि म निकै व्यस्त रहन पुगें । मैले पहिलेको काम छाडेको त्यस्तै चार महिना पछि एक दिन सुष्मा बहिनीले मलाई फोन गरेकी थिई । त्यसैबेला मैले उनलाई गणेशको बारेमा पनि सोधेको थिएँ । उनले आश्चर्य व्यक्त गर्दै भनेकी थिई ।
“लौ दाइ, तपाइँलाई अझसम्म पनि थाहा छैन र ? गणेश त भिसाको समस्याले गर्दा दुइ महिना अघि नै आफ्नै घर मोरिसस् फर्किसक्यो नि ।”
“ए, अनि इन्दिरा पनि ऊ सँगै फर्कियो कि ?” मैले इन्दिराको बारे पनि जान्न खोजें ।
“कहाँ फर्किनु नि दाइ, तपाइँ पनि ट्युबलाइट नै हुनुहुँदोरहेछ, अझसम्म पनि केही कुरा थाहा नपाउने । इन्दिरा त त्यही अफ्रिकन सुपरभाइजरसँग विवाह गरेर उसैसँग बसेकी छे नि यही बेलायतमै । तर दुवैजनाले हाम्रो कम्पनिमा काम भने छोडिसकेका छन् । अस्ती एकजना मोरिससको केटीले मलाई भन्दै थिई कि उसले त त्यो सुपरभाइजरको श्रीमतिको रुपमा बेलायतमै रहनका लागि होम अफिसमा आवेदन दिएर स्वीकृत पनि भइसकेको छ रे । अब उनलाई भिसाको कुनै समस्या नै रहेन । खालि गणेशले मात्र सबैथोक त्याग्नुप¥यो ।” सुष्माले उनीहरुको बारेमा आफूलाई थाहा भएको सबै मलाई वृत्तान्त बताई ।
सुष्माले इन्दिराको बारेमा बताएको कुरा पूरै अनपेक्षित त थिएन तर पनि इन्दिराले गणेशलाई यतिसारो धोका देला भन्ने चाहिं कदापि सोचेको थिइनँ ।
सोझो र इमान्दार हुनु पनि अभिशाप नै रहेछ यो स्वार्थी संसारमा । विचरा गणेश दुख सुख गरी मोरिससमा रमाइ नै रहेको थियो । श्रीमतिकै करकाप र जिद्दीमा परेर आफ्नो घर परिवार, बालबच्चा सबै छाडेर अनि अलि अलि भएको घरजग्गा पनि धरौटीमा राखेर बेलायत आएको मान्छे । बेलायतमा आफ्नी श्रीमति पनि गुमाएर रित्तो रित्तो हात एक्लै घर फर्किनु प¥यो । 
विचरो गणेशले आफ्नो बच्चाहरुलाई उनीहरुको आमाको बारेमा के जवाफ दियो होला ? आफ्नो परिवार र छिमेकीको सामना कसरी ग¥यो होला ? यस्तै यस्तै गणेश सम्बन्धि प्रश्नहरु सम्झँदै मेरो मन बेलाबेलामा अझै पनि झस्किरहन्छ ।

दोलखा, नेपाल


Friday 11 January 2013

गजल



                              – श्रेष्ठ सत्य

नमेटिने, नफेरिने थर छैन कसैको ।
मरि जाने जिन्दगिमा भर छैन कसैको ।।

चौतारी मात्रै हो संसार यो दुइ पलको,
दुनियाँमा चिरस्थायी घर छैन कसैको ।

मन्त्री, सेनापति, अरब र खरबपति,
कालको सामुन्नेमा पावर छैन कसैको ।

कर्मफल भोग्नैपर्छ जति धूर्त भए पनि,
चोरलाई साधु बन्न कर छैन कसैको ।

झुल्छन् सबै भूत र भविष्यको झोलुंगेमा,
वर्तमान क्षणमा नजर छैन कसैको ।

मृत्युलाई सहजै स्वीकार्नेहरुका लागि,
सत्यको बाहेक अरु डर छैन कसैको ।

 दोलखा, नेपाल ।

Sunday 23 December 2012

गजल


                                          - श्रेष्ठ सत्य

विषलाई अमृत म ठान्दै ठान्दिन धरोधर्म ।
अब देखि कुनै नशा तान्दै तान्दिन धरोधर्म ।।

“यही नै हो अन्तिम पटक ” भनियो धेरैपल्ट,
अब पिउने बहाना जान्दै जान्दिन धरोधर्म ।

असम्भव त केही छैन भित्रै देखि चाहेपछि,
रक्सी छाड्नु गाह्रो काम मान्दै मान्दिन धरोधर्म ।

वास्तविक आनन्द त होशमा बसेर पो मिल्छ,
बेहोसीमा कुनै पल धान्दै धान्दिन धरोधर्म ।

आफन्तले भनेका रैछन् मेरै भलाइका लागि,
भो आफ्नै छातीमा छुरा हान्दै हान्दिन धरोधर्म ।

प्रस्ताव त धेरै नै आए नशालु प्रेमका लागि,
सत्य छाडी अरुलाई छान्दै छान्दिन धरोधर्म ।

दोलखा, नेपाल  ।

गजल



      >]i7 ;To

v'zLsf] vhfgf dfq} sdfpg l;s ca .
;Tosf] xft x/kn ;dfpg l;s ca ..

c+wsf/d} afFR5f} slt csf{sf] bf; eO{ <
pHofnf] ;Fusf] bf]:tL hdfpg l;s ca .

;'vdf t hf] klg xfF:g] ufpg] u5{g\ oxfF,
b'Mv / si6df klg /dfpg l;s ca .

x] lgn{Hh, efU5f} slt af;gfsf] kl5 kl5 <
clnslt eP klg ;df{pg l;s ca .    

clxn] xf] of e/] lu5{ kbf{ of] hLjgsf] <
;TonfO{ ;dod} 7Dofpg l;s ca .

bf]nvf, g]kfn



Wednesday 16 May 2012

एक दूरदशी गीत (व्यंग्य)


                                                            –  श्रेष्ठ सत्य
                            दोलखा, नेपाल

“हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शीर उभिएको स्वाभिमानी नेपाली हुन्छ ।
विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ ।...............”

सानैदेखि विद्यालयको प्रांगणमा गाइने यो गीत अझै पनि मेरो जिब्रोमै झुण्डिरहेको छ । अझै पनि कहिलेकाहिं ओंठबाट अनायासै फुस्किन जान्छ । संयोग एक दिन म लण्डनको आफ्नो भान्सामा खाना पकाउँदै यही गीत गुनगुनाउँदै थिएँ । हामीसँगै एकै फ्ल्याटमा बस्नुहुने कुमार दाइ अचानक भान्साकोठामा पस्दै भन्नुभयो – “सत्यजी यो गीत अहिलेको परिप्रेक्ष्यमा कत्ति पनि सान्दर्भिक छैन । तपाइँ चाहिं किन अझै यो पुरानो र प्रतिगामी गीत गाइरहनुहुन्छ ? ”

म कुमार दाइलाई यो गीत सान्दर्भिक भएर होइन गाउने लत भएर गाएको भनी स्पष्टिकरण दिन खोज्दै थिएँ, छेवैमा आलु ताछिरहनुभएको सुन्दर दाइले भन्नुभयो – “होइन कुमारजी यो गीत अहिले त झनै सान्दर्भिक छ नि । यस गीतका गीतकार पक्कै पनि बहुतै दूरदर्शी हुनुपर्छ किनकी यो गीत दिनदिनै झन् झनै सान्दर्भिक र यथार्थपरक बन्दै गइरहेको छ ।”

“होइन सुन्दरजी तपाइँले भन्न खोज्नुभएको के हो ? त्यो गीत अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा कसरी सान्दर्भिक हुन्छ ? तपाइँ पनि जे पायो त्यही बोल्नुहुन्छ यार ।”

“सुन्नुहोस् कुमारजी, हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ – भन्ने वाक्य कति यथार्थ र व्यवहारिक छ अहिले पनि ? हामी नेपाली हट्न र झुक्न त जानेकै छैनौं । इतिहाँसमा दरबारको भाइभारदारमा मात्र सीमित लडाइ, २०३६ सालमा राजा र जनताबीच विस्तार भयो त्यही लडाइँ २०६९ सालसम्म आइपुग्दा गाउँगाउँमा बस्ती बस्तीमा विस्तार भइसकेको छ । जातीयता, क्षेत्रीयताको नाममा, धर्म र भाषाको नाममा हेर्नुहोस् नेपालीको नेपालीबीचको लडाइँ । पहिले विदेशीहरुलाई खेद्न सीपालु नेपालीहरु अहिले आफ्नै देशवाशीलाई एक ठाउँबाट अर्को ठाउँमा खेद्न र सके ज्यानै लिन कम्मर कसेर लागिपरेका छन् नेपालीहरु । यहाँ झुक्न त कोही जानेकै छैनन् सबै डटी लड्न र मर्न मार्न तयार छन, पछि हट्न कोही तयार छैनन् । अहिले जस्तो डटी लड्ने नेपालीहरु इतिहाँसको कुनै पनि पन्नामा पहिले कहिल्यै पाएका थियौ त हामीले ? अब त लड्नु,लडाउनु मर्नु, मार्नु हामी नेपालीहरुको जन्मजात बानी नै भइसकेको छ । आज मुलुकैभरि कतै मधेसी र पहाडी भन्दै, कतै ब्राम्हण, क्षेत्री र जनजाति, आदिवासी भन्दै, कतै थारु र अन्य जात भन्दै त कतै यो पार्टी र ऊ पार्टी भन्दै नेपालीहरु आपसमा मारकाट गरिरहेका छन् । हेर्नुहोस् त कुमारजी गीतकारले कति मज्जाले हाम्रो वर्तमान अवस्थालाई छर्लंगै चित्रित गरेका छन् यस गीतमा ?”

कुमार दाइले उहाँको कुरालाई खण्डन गर्न त सक्नुभएन उहाँले फेरि सुन्दर दाइसँग अर्को प्रश्न गर्नुभयो
“ल तपाइको त्यो राय त ठिकै छ तर त्यस पछिको पंक्ति– त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ  भन्ने वाक्यांश त अहिले बकवास नै होइन त, सुन्दरजी ? यो त गीतकारको अन्ध राजभक्त मात्र होइन र ? अब त राजारानी त रहेनन् नि । यसमा चाहिं तपाइको के तर्क छ त , मेरो प्यारो राजावादी मित्रज्यू ?”

सुन्दर दाइले आफ्नो तर्क यसरी राख्नुभयो –
“यो वाक्यांश त नेपालको वर्तमान र भविष्यसँग झनै ठ्याक्कै मेल खान्छ, । गीतकारको आफ्नो दूरदर्शी क्षमता यो हरफमा अझै निखारिएर प्रस्फुटन भएको छ । विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँराजारानी हुन्छ यही होइन त त्यसपछिको हरफ ?
यसमा गीतकारले के भन्न खोजेका हुन् भने नेपाल त अब जात, धर्म,  क्षेत्रीयताको नाममा टुक्रिने नै भयो, बाइसे र चौबिसे देशहरुमा, त्यसबेला पहिले कुनै बेलामा नेपाल भन्ने एउटा सिंगै राष्ट्र थियो भन्ने कुरा विश्वको कतै कतै कुनाकाप्चामा कसै कसैलाई मात्र थाहा हुनेछ तर टुक्रा टुक्रामा विभाजित नेपालमा रहने सारा नेपालीहरुको मुटुमा भने एक जमानामा नेपाल सिंगै थियो भन्ने भावना रहिरहनेछ । अब कुरो रहयो राजारानीको , नेपालमा गणतन्त्र आएर शाहवंशीय राजतन्त्रको त अन्त्य भयो तर के साँच्चै जनताको लोकतन्त्र, जनताको गणतन्त्र आयो त ? गणतन्त्रको आगमन पछि पनि नेपाली जनताहरुलाई यहाँका तथाकथित राष्ट्रपति, प्रधानमन्त्रीहरुले रैती र दास बाहेक केही देखे त ? उनीहरुका प्रत्येक कदमहरु राजाका भन्दा पनि निरंकुश, स्वेच्छारी र व्यक्तिवादी ठहरिएका छन् । त्यसैले कहाँ आयो यहाँ लोकतन्त्र कहाँ आयो जनताको शासन, पार्टिभित्र, सरकार भित्र नेताहरुको योगदान र बलिदानको आधारमा नभई नातावाद र फरियावादको आधारमा पदोन्नति भइरहेको छ । यही हो राजतन्त्र र यही नातावाद र फरियावादलाई नै गीतकारले रानी भन्न खोजेका हुन् । हेर्नुुहोस् त आज नेपालमा जुन दलले गरिब र सर्वहारा वर्गका लागि भनेर हजारौं नेपाली जनतालाई बलिको शिकार बनायो त्यही पार्टीमा राजा, रानी र राजकुमार पनि सारा नेपालीहरुले देखि भोगिसकेका छन्, कि कसो सत्यजी ?”

मैले स्वीकारात्मक टाउको हल्लाएँ र मलाई त्यही गीतको अर्को हरफको बारेमा सुन्दर दाइसँग जिज्ञासा राखें– “अनि दाइ, गीतकारले हामे मादल शान्तिको लागी मरुभूमिमा परेड खेल्छ भन्नुको अर्थ चाहिं के हो नि ? शान्तिको लागी हाम्रो मादल मरुभूमिमै गएर परेड खेल्नुपर्ने किन ? आफ्नै डाँडाकाँडा र फाँटमा परेड खेले हुन्न र ?”
“ सुन्नुस्, यो वाक्यले त झनै हामे वर्तमान अवस्थालाई छर्लंगै उतार्न सफल भएको छ । हाम्रो देशमा गरिबी र बेरोजगारी बढेकै कारण लडाइँ झगडा र अशान्ति व्याप्त छ । त्यसैकारण लाखौं नेपालीहरु प्रत्येक वर्ष विदेशिन बाध्य छन् । मरुभूमि भनेर गीतकारले खाडी क्षेत्र र विदेशिने नेपालीहरुको अवस्थालाई भन्न खोजेका हुन् । नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि मरुभूमितुल्य जीवन बिताउन विवश छन् नपत्याए हामी बेलायतमै बस्नेहरुको जीवन हेरौं के हामीले मूरुभूमिमा भन्दा कम सास्ती झेलिरहेका छौं त ? जहाँ गए पनि नेपालीले मादलै बन्नुपर्ने मादलले जस्तै चोट पाउनुपर्ने भएको छ । जति इमान्दार र परिश्रमी भए पनि नेपालीहरुले सहनै पर्ने र आफ्नो अधिकारको लागी लड्नैपर्ने कुरालाई त भर्खरै सफल भएको गोर्खाली भुपू सैनिकहरुको आन्दोलनले पनि पुष्टि गरिसकेको छ नि । ”

त्यसैले यस गीतका गीतकारले गीतका प्रत्येक हरफहरुमा मार्मिक रुपमा नेपालको वर्तमान र भविष्यको कुशल चित्रण गरेका छन् । गीतकार निश्चित रुपमा राष्टप्रेमी र दूरदर्शी सावित भएका छन ् ।”
यो कुरा सुनेर कुमार दाइ हाँस्दै बाहिर निस्किनुभयो भने सुन्दर दाइ र म भान्साकोठामै बसेर त्यही मर्मस्पर्शी गीत गाउन थाल्यौं
“हटने हैन डटी लड्ने .................”

–समाप्त–