Popular Posts

Tuesday 4 October 2011

हराएको साथी (कथा)

                                                                                                                    –  श्रेष्ठ सत्य
“ओइ काले उठ अब, कति सुति रा, तिमी ?” हर विहान शंकर मेरो कोठामा आएर मलाई यसरी नै ब्युँझाउने गर्दथ्यो । शंकर एकाबिहानै आफ्नो सुरुवालको गोजीभरि भुटेको मकै भटमास हालेर चपाउँदै मेरो कोठामा आउने गथ्र्यो । म उसलाई भन्ने गर्थें “ह्या एकछिन सुत न तँ पनि, आइज ।” “ए अल्छि, कुम्भकर्ण, त्यहाँ कक फाइटमा बजारका केटाहरुले हामीलाई हराउन लागिसके तँ भने अझै सपनामै मस्त होइन ? खुरुक्क उठेर गोजीमा भुटेको मकै थोरै अनि धेरै भटमास हाल अनि हामी हिंडिहाल्ने, तिनीहरुसँग भिड्न ।” मलाई शंकर यसरी नै हर बिहान उठाएर लिएर हिंड्थ्यो । अनि आमाले खाना खान नबोलाएसम्म हामी विभिन्न खेल खेल्नमा व्यस्त रहन्थ्यौं । उसको नाम शंकर भए पनि हामीहरु सबै उसलाई “ड्वाकु बाबु” भनेर बोलाउने गथ्र्यौं । त्यसो त हामी साथी साथीहरुबीच वास्तविक नाम भन्दा पनि बिनामले नै एकार्कालाई बोलाउने चलन थियो । बिनाम पनि एकवटा मात्र हुन्थेन, कतिपय साथीहरुको त १०, १२ वटासम्म पनि बिनाम हुने गर्दथ्यो । कयौंपटक त बिनामकै कारण पनि साथी साथीबीच झगडा पनि भइरहन्थ्यो ।
खेल्दा खेल्दै आमाले खाना खान बोलाउन थालेपछि स्कूल जानुपर्ने भयले मुटु फुलेर आउँथ्यो । अनि म लगायत शंकर, पूर्ण, खड्गे आदि साथीहरु स्कूल नजानका लागि उपयुक्त बहाना सोच्नतिर लाग्थ्यौं । कयौं पटक हाम्रो बहानाले काम पनि गथ्र्यो भने धेरैपल्ट त हामी हार्दै स्कूल जानुपर्ने हुन्थ्यो । हामीलाई घरदेखि स्कूलसम्म पु¥याउन हाम्रो अभिभावकले हाम्रो ठूलै प्रतिरोधको सामना गर्नुपर्ने हुन्थ्यो । शंकर आदि साथीहरु स्कुलको गेटबाट भित्र पसेपछि बिस्तारै स्कूलको दैनिक क्रियाकलापमा सहभागी हुन्थे भने म भने आमालाई पनि मसँगै कक्षामा बस्न जिद्दि गर्दै रुन्थें । आमा सधैं मेरो आँखा छलेर कुन बेला घर जानुहुन्थ्यो मैले पत्तै पाउँदिनथें । बेलुकी स्कूल छुट्टि भएपछि म घर पुगेर किताबको झोला फ्याँकेर खाजा खाई नसक्दै शंकर पूनः मलाई बोलाउन आइपुग्थ्यो । त्यसपछि हामी कहिले पाखलतीको पोखरीमा पौडी खेल्न जान्थ्यौं, कहिले मन्देश्वरीमा सुतुतु खेल्न त कहिले अमला टिप्न मलेपुसम्म पनि पुग्ने गथ्र्यौं । बेलुकी घर पुगेर आँत्तिंदै होमवर्क गरिभ्याएर सुत्न हतारो हुन्थ्यो हामीलाई ।
शंकर र मेरो घर जोडिएको थियो । त्यसताका दोलखा बजारमा सबैभन्दा पुरानो र ठूलो घर हाम्रो नै थियो । त्यसै घरको ठूलो आँगनमा खेल्नको बदला हामी आसपासको जंगल, चउर र नदि, खोल्सामा घुम्न र खेल्न रमाउँथ्यौं । वरपरका केटाकेटीहरु खेल्न हाम्रो आँगनमा आउँथे भने म र शंकर भने कता कता पुग्थ्यौं । यसरी प्रकृतिसँग खेल्नमै हामीलाई सा¥है आनन्द लाग्ने गर्दथ्यो । प्राय शनिबारको दिन नुहाउनका लागि अन्य साथीहरु नजिकैको राइती या वतिचामा भीड लाग्न जान्थे भने म र शंकर नुहाउनका लागि कहिले प्वाटाँगा, कहिले चाथली, कहिले दोल्ती खोला त कहिले सुष्पासम्म पनि पुग्ने गथ्र्यौ । हामी नुहाएर घर फर्किंदा साँझ परिसकेको हुन्थ्यो । बिदाका दिनहरुमा पनि हामी कहिले चरिकोट जाने बाटै बाटो हिंडेर दोलखा र चरिकोटबीचको जंगलमै खेलेर बस्थ्यौं त कहिले माथि रिजरभ्वायरसम्म पुग्थ्यौं, कयौंपटक हामी दुइजना कालिन्चोक र सुन्द्रावती जाने भनी जान्थ्यौं र बीचमा बाटो नचिनेर फेरि घरतिर फिर्ता हुन्थ्यौं ।
शंकर आफ्नी आमा र एक भाइको साथमा बस्थ्यो भने उनको दुइटै दिदीहरुको विवाह भइसकेको थियो । शंकरको बुबा भने भारतमा काम गर्नुहुन्थ्यो भन्ने गर्थे । हामी दुइजना यसरी घुमिरहँदा शंकर कहिलेकाहीं अचानक निकै चिन्तित हुन्थ्यो र ऊ भन्ने गथ्र्यो – “काले, मलाई हाम्रो यो दोलखाको समाज र यहाँका मान्छेहरुसँग त वाक्क दिक्क लाग्छ तर यो ठाउँ र तिम्रो भने सा¥है मायाँ लाग्छ । तिमी र यो ठाउँलाई छाडेर बाँच्नुप¥यो भने म त पलपल मर्छु होला ।” शंकर सानै भए पनि कहिलेकाहीं पाको कुरा गथ्र्यो, उसको त्यस्तो कुराले मेरो बाल्यमस्तिष्कमा पनि छुट्टै प्रकारको छाप पर्ने गथ्र्यो । म उसलाई भन्ने गर्थे , “ड्वाकुबाबु, तिमी किन यस्तो कुरा गर्छौ, तिमी किन यो ठाउँ र मलाई छाड्ने कुरा गर्छौ, त्यस्तो दिन पनि यो धर्तीमा कहिल्यै आउला र ?” ऊ गम्भीर भएर मलाई भन्ने गथ्र्यो – “तिमी कसैलाई नभन्ने भए यौटा कुरा म तिमीलाई भन्छु, हामीलाई बाबाले इण्डियामा बोलाइराख्नुभएको छ तर आमा अहिलेसम्म मान्नुभएको छैन नि । ” यही कुरा शंकर हरेक एक दुइ महिनामा फेरि फेरि दोहो¥याइरहन्थ्यो । शुरु शुरुमा शंकरको कुरा सुन्दा म चिन्तित हुन्थें, शंकर बिना मेरा दिनहरु कस्ता हुने होलान् भन्ने सोचेर म एक्लै बस्दा सधैं टोलाइरहन्थें तर शंकरले यस्तो कुरा दोहो¥याइरहँदा, शंकरको आमाले जुनसुकै हालतमा पनि उसको बुबाको प्रस्ताव स्वीकार्नुहुन्न भन्ने कुरामा म ढुक्क हुँदै गइरहेको थिएँ ।
शंकरको बुबा कस्तो होला भनेर मलाई जहिल्यै देख्न मन लाग्थ्यो । उहाँ कहिले काहीं घर आउने भए तापनि मैले कहिल्यै उहाँलाई देख्ने मौका पाइनँ । शंकरलाई म जहिल्यै जिस्काउँथें “ तिमी मलाई आफ्नो बाबा कहिले देखाउँछौ ?” भनेर । ऊ पनि “बाबा आउने बित्तिकै म तिमीसँग भेट गराउँछु” भनेर खुशीका साथ भन्थ्यो । दशैं भर्खरै सकिएको थियो, खड्गजात्रा (दशैंको एकादशी) सकिएको एक दुइ दिन पछि शंकर र म अम्बा टिप्न भनी तामाकोशीतर्फ जाँदै थियौं । बाटोमा शंकरले मलाई बाबाले ल्याएको भनेर २ वटा सुन्दर मिठाइहरु दिएको थियो । मैले खुशी हुँदै भनेको थिएँ “ए त्यसो भए भरे तिम्रो बाबालाई भेट्ने है त ?” शंकरले भुइँतिर निहुँरिंदै भनेको थियो – “उहाँ त फर्किसक्नुभयो ।” “फर्किसक्नुभयो रे ? तिमी गफ नलगाऊ न, तिमीले नै आउने बित्तिकै मलाई तिम्रो बाबा देखाउँछु भनेको होइन ?” मैले आक्रोश र आश्चर्य एकैपटक पोखेको थिएँ शंकरसँग । “त्यो त हो तर....” शंकर अन्यौलमा थियो । “ के तर ? तिम्रो बुबालाई म खान्न त ?” म झर्केको थिएँ । शंकर अँधेरो मुख पारेर बोलेको थियो “खान्छौ भनेर होइन, उहाँले कसैलाई भेट्न मिल्दैन रे । तिमीले कसैलाई नभन्ने भए मात्र म तिमीलाई यो कुरा गर्छुु ।” मैले बाचा गरे पछि उसले भनेको थियो “मेरो बुबालाई हाम्रो आफ्नै मान्छेहरुले झूटा मुद्दामा फँसाएका छन् रे त्यसैले प्रहरीले उहाँलाई खोजेको खोज्यै छन् रे । त्यसैले उहाँले कसैलाई भेट्न मिल्दैन रे । उहाँ हिजो राति लुकिछिपी घर आएर आज बिहानै फर्किसक्नुभयो । ” मैले शंकरले भनेको सबै कुरा नबुझे पनि उसको बुबाले कसैलाई भेट्न नमिल्ने रहेछ भनरे बुझें । शंकरले त्यसै क्रममा बताएको थियो कि उसको बुबा कुनै पनि हालतमा दोलखामा आउन नमिल्ने भएकोले परिवार साथमा रहनका लागि उनीहरु नै भारततर्फ जानुपर्ने हुनसक्थ्यो कुनै पनि बेला ।
त्यस दिन देखि नै शंकरलाई मैले कुनै पनि दिन छोड्नै पर्ने अवस्थाको कल्पना गर्न थालेको थिएँ । म उसलाई बेलाबेलामा सोध्थें
“ड्वाकुबाबु, केही गरी तिमी मलाई छोडेर जानै प¥यो भने के गर्ने होला ? ”
“एक त त्यस्तो अवस्था नै आउँदैन यदि आइहाल्यो भने म तिमीलाई पनि साथै लगेर जान्छु, हुन्न ?” शंकर सहजै यस्तो उत्तर दिन्थ्यो । म शंकरसँगै आफू पनि भारत गएको कल्पनामा हराउन पुग्थें । तापनि दोलखा भन्दा सुन्दर ठाउँ संसारमा कतै पनि होला भन्ने हामी दुवै जनालाई लाग्दै लाग्दैनथ्यो । शंकर भन्ने गथ्र्यो “हामी ठूलो भए पछि तिमी र म, यहाँ होइन, यी मानिसहरु कोही नभएको तर आसपासको रमाइलो ठाउँ शैलुङ या कालिन्चोक, टुटानको वरपर या गौरीशंकरको आसपास कतै हामी छुट्टै घर बनाएर बस्ने ल ?” म शंकरको हो मा हा मिलाउँथें । यसरी नै शंकरसँग बस्दा, खेल्दा, डुल्दा समय कसरी बित्छ पत्तै हुँदैनथ्यो । शायद अन्य साथीहरु र छिमेकीहरु हामी दुइजनाको मित्रता देखेर इष्र्याले जल्थे पनि होलान् तर त्यतातिर ध्यान दिने हामीलाई फुर्सदै भएन । यसरी नै समय बितिरहेको थियो, हामी बढ्दै गइरहेका थियौं र जेनतेन पास गरेर भए पनि हामी कक्षा पाँचमा पुगिसकेका थियौं ।
फागु पूर्णिमाको अघिल्लो रात धेरै अबेरसम्म होली खेलेर भोलिपल्ट बिहानै सबैजना जम्मा भएर होली खेल्ने बाचा गर्दै छुटेको शंकरलाई भोलिपल्टदेखि मलाई एकाबिहानै बोलाउन कहिल्यै आउनु परेन । त्यही रात हाम्रो र हाम्रो घरसँगै जोडिएको शंकरको घर पनि जलेर हाम्रै आँखाको अगाडि खरानीको थुप्रोमा परिणत भएको थियो । त्यस रातको दुइ बजे देखि नजिकैको घरेलुको प्रांगणमा बसेर निरिह भई आगोमा दनदन जलिरहेको आफ्नो घरतर्फ टुलुटुलु हेरिरहँदा मैले मेरो र शंकरबीचको मित्रता र सँगै बुनिएका सारा सपनाहरु पनि त्यही आगोमा स्वाहा भएको त अनुमान पनि गरेको थिइन ।
वर्षौदेखिको हाम्रो बासस्थान खरानीमा परिणत भए पछि हामी मावलीमा गएर बस्न थाल्यौं भने शंकरको परिवार त्यसको ४, ५ दिन पछि नै भारततर्फ लागे भन्ने सुनियो । त्यसै रात नै शंकर र मेरो मिलनको अन्तिम रात रहेछ । त्यसपछि शंकरको र मेरो कहिल्यै भेट भएन । म कक्षा आठमा पढिरहँदा शंकर २ दिनका लागि दोलखा आएको रहेछ तर ऊ मलाई नभेटिकनै फर्किसकेको रहेछ मैले यो खबर थाहा पाउन्जेल । त्यसैगरी मैले काठमाडौंमा प्रवीणता प्रमाणपत्र तह पढिरहँदा शंकर आमासँगै एक महिनाका लागि दोलखा आएको रहेछ सोही बेला आफ्नो घरबारीहरु सबै बेचेर उनीहरु फेरि पनि भारत फर्केका रहेछन् । दशैंको बिदामा कलेज छुट्टि भएर दोलखा जाँदा मैले यो खबर पाएको थिएँ । त्यसपछि शंकरको केही अत्तोपत्तो पाउन सकिन ।
मलाई लाग्छ शंकरले त सायद मलाई बिर्सिसक्यो होला तर शंकरलाई सम्झेर मलाई भने अझै पनि बेलाबेलामा त्यही बाल्यकालमा फर्किन मन लाग्छ ।
दोलखा, नेपाल
हाल,
बेलायत