Popular Posts

Tuesday 27 September 2011

गजल

                 
                               – श्रेष्ठ सत्य

सबैले ठान्न थाले आफैंलाई नरेश, प्रभु ।
भताभुङ्ग, लथालिङ्ग भयो मेरो देश, प्रभु ।।

कुर्शी – कपर्दी खेलमै नेताहरु व्यस्त भए,
राजनीतिलाई बनाए जुवा र चेस, प्रभु ।

नियम र कानून भन्ने कहाँ छ र खै यहाँ ?
हत्याराहरुकै छ मोजमस्ती र यश, प्रभु ।

एकता र विश्वासका कुराहरु कहाँ गए ?
आफू, आफूबीचै धेरै इष्र्या अनि द्वेष, प्रभु ।

गर्न अझै पनि सकिन्छ सबै हामी जाग्यौं भने,
देशप्रेमीले कदापि खाँदैनन् हरेश, प्रभु ।

एक भए सबै हामी सच्चा देशप्रेमीहरु,
देशमा धमिरा कोही रहँदैनन् शेष, प्रभु ।

अबेर कति नगरी कम्मर कसे सबैले
बनाउन सकिन्छ नेपाल धेरै वेश, प्रभु ।

दोलखा, नेपाल
हाल, बेलायत ।

गजल

                                      – श्रेष्ठ सत्य

सांसारिक मायाँदेखि अत्ती नै थाकिसकें ।
जीवनको गाडिलाई मृत्युतिरै हाँकिसकें ।।

शरिरसँगै यसै धर्तीमा छाडेर जानैपर्ने,
मिथ्या धनको पछि लाग्ने बानी त्यागिसकें ।

अलग छैन केही पनि त्याग र प्राप्तिमा,
संसारको दुख सुख धेरै नै चाखिसकें ।

नातागोता, आफन्त क्षणभरकै मात्र सारा,
सधैंको साथी मैले परमात्मा ताकिसकें ।

पर्दिन विचारको काल्पनिक खेलमा अब
चेतनाको ज्योतिले मनलाई ढाकिसकें ।

चाहिन्न कसैको शिक्षा दीक्षा पनि मलाई,
आफ्नै अनुभवले म त अत्ति पाकिसकें ।

सपना, भावना हो, नआऊ अब वरिपरि
सत्यलाई घरमा सदालाई डाकिसकें ।

दोलखा, नेपाल
हाल, बेलायत

Friday 2 September 2011

गजल


                                            – श्रेष्ठ सत्य

जति खाए पनि हराएन यिनको भोक हरे
कुर्शी नपाउने बित्तिकै कत्रो पो शोक हरे ।।

मुख्य काम थाँती राखी सत्ताखेलमा अल्झिने,
तिम्रो चालादेखि जिब्रो टोक्छन् सबै लोक हरे

महिना वर्ष गर्दै बित्ने भए युग पनि,
संविधान लेख्ने कामलाई ठान्छन् जोक हरे

महल गाडी मात्र जप्छौ किन यतिविधि ?
देश जनता पनि कहिले घोक हरे

के हेरी बस्छौ हे नेपाली जनताहरु सारा,
यिनका छातीमा अब बज्र ठोक हरे

दोलखा, नेपाल