Popular Posts

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Friday, 17 January 2014

“विदेशको वियोग”

श्रेष्ठ सत्य

जब साँझको साँडे छ बज्थ्यो, म काममा जानको लागि पश्चिमोत्तर लण्डनको अलपर्टन रेल स्टेशनमा पिकाडिल्ली लाइनको पूर्वतिर जाने रेल चढ्न आइपुग्थें । मसँगै काममा जानका लागि नेपाली बहिनीहरु सुष्मा र सविना पनि त्यही स्टेशनमै रेल कुरिरहेका हुन्थे । हामी तीनै जना पश्चिम लण्डनको ह्याम्मरस्मिथ भन्ने ठाउँमा एउटै कम्पनिका लागि काम गथ्र्यौं । अलपर्टनबाट रेल चढेर इलिङ कमन पुग्ने बित्तिकै हामीसँगै काम गर्ने मोरिससका गणेश पनि त्यही रेलमा हामीसँगै यात्रामा सहभागी हुन आइपुग्थ्यो । गणेश प्राय एक्लै हुन्थ्यो भने कहिलेकाहीं ऊ आफ्नी श्रीमति इन्दिराको साथमा हुन्थ्यो । यसरी नै हामी सबै सहकर्मी साथीहरु बेलुकीको साँडे सातदेखि पौने आठ भित्र हाम्रो कर्मस्थलमा पुगिसकेका हुन्थ्यौं र बेलुकी आठ बजेदेखि भोलिपल्ट विहानसम्मै आ–आफ्नो काममा तल्लिन हुन पुग्थ्यौं ।
नेपाली भएको नाताले काम गर्ने ठाउँमा सविना, सुष्मा र म खुबै मिल्ने गर्दथ्यौं । हामीहरुबीच काम लगायत घरायसी कुराहरुको पनि आदान प्रदान हुने गर्दथ्यो । यौटै कम्पनिमा भए पनि सुष्मा र सविना एकै युनिटमा काम गर्थे भने म भने अर्कै छुट्टै युनिटमा थिएँ । मोरिससका गणेश दम्पति पनि सुष्मा र सविनाकै युनिटमा काम गर्थे । गणेशकी श्रीमति इन्दिरा प्राय दिउँसोको समयमा काम गर्थी र उनी कहिलेकाहीं मात्र रातीको काम गर्दथी तर गणेश चाहिं हामी तीन जना जस्तै सधैंभरि राती नै काम गर्ने गथ्र्यो । 
सुष्मा र सविना गणेशसँग साह्रै मिल्थे । म भने शुरुका दिनहरुमा गणेशको “हेलो हाय”को मात्र साथी भए पनि पछिल्ला दिनहरुमा उनीहरुकै कारण म पनि गणेशसँग राम्रैसँग बोल्न थालेको थिएँ । त्यसो त गणेश मोरिसियन भए पनि झट्ट हेर्दा ऊ ठ्याक्कै नेपाली जस्तै देखिन्थ्यो । उसको बानी व्यवहार पनि औसत नेपालीहरुसँगै मिल्ने गथ्र्यो । मझौला कदको, गहुँगोरो, प्रायजसो नर्थफेसको बाक्लो ज्याकेट लगाउने अनि कम बोल्ने गणेश, असाध्यै सोझो, मिलनसार र इमान्दार स्वभावको थियो । सुष्मा र सविनासँगको भेटमा गणेशको बारेमा पनि हामी कुरा गर्ने गर्दथ्यौं । उनीहरु मलाई सधैं सुनाउने गर्दथे– “गणेश अत्यन्तै सोझो र सहयोगी छ । काममा जसले गाली गरे पनि उसको बारेमा नराम्रो कुरा गरे पनि ऊ खालि हाँसि मात्र रहन्छ । जहिले ड्युटी साट्न भने पनि नाइँ कदापि भन्दैन । काममा जे जस्तो सहयोग मागे पनि खुरुखुरु गरिदिन्छ ।” आदि । त्यसैगरी गणेशकी श्रीमति इन्दिराको बारेमा पनि उनीहरु मसँग कहिलेकाहीं भन्ने गर्थे – “गणेशकी बुढीलाई आफू अलिक ठूली पल्टिनुपर्छ । नजानि नजानिकनै पनि खुबै हिन्दि बोल्नुपर्ने उनलाई ।” यसो भन्दै उनीहरु इन्दिराले भन्ने गरेका अनौठो हिन्दि शब्दावलीहरुलको स्मरण गर्दै पेट मिचिमिचि हाँस्ने गर्दथे । 
त्यसो त गणेश करिब ५ वर्ष अघि नै विद्यार्थीको रुपमा बेलायत आएको थियो । त्यसको केही महिना पछि नै इन्दिरा पनि आफ्ना २ छोरी र १ छोरोलाई आफ्नी आमासँग मोरिससमै छाडेर गणेशको डिपेण्डेण्टको रुपमा गणेशलाई साथ दिन बेलायत आइपुगेकी थिई । दुइजनाको जोडी साहै्र मिलेको, सुहाएको र अत्ती नै मायालु थियो । गणेशको इन्दिराप्रति निश्छल र निस्वार्थ प्रेम थियो । सविना मलाई सुनाउने गर्थी – “दाइ, गणेश त आफ्नो ब्रेकको समय पनि केही नखाएर, आराम पनि नगरेर बुढीसँगै फोनमा कुरा गरिरहन्छ ।” 
”गणेश – इन्दिरा होइन, मुकुन्द– इन्दिरा हुनुपर्ने हो यो जोडीको नाम” म थप्ने गर्थे ।
सविना मेरो कुरामा हो मा हो मिलाउँदै मरिमरि हाँस्थी । 
“गणेश यति धेरै सीधा छ, बुढीसँग उसले कसरी कुरा गर्छ होला हगि ?” म कहिले काहीं सविना र स ुष्मासँग यस्तो प्र्रश्न गर्ने गर्थें । मेरो प्रश्न स ुनेर उनीहरु जोडजोडले हाँस्थे । 
त्यस्तैमा आफ्नो परिक्षा आएकोले पढाइका कारण काम गर्न नभ्याउने भन्दै सविनाले त्यो काम छाडी । अब हामी तीनजना नेपाली मध्ये पनि एक घटेर सुष्मा र म हामी दुइजना मात्र नेपाली त्यस कम्पनिमा बाँकी रह्यौं । त्यसको केही समयपछि नै सुष्मा पनि दशैंको मौका पारेर डेढ महिनाको छुट्टि लिएर नेपालतिर प्रस्थान गरी भने केही समयका लागि मैले एक्ला एक्लै नै काममा आवतजावत गर्नुप¥यो । त्यसैबेलामा प्रायजसो गणेशसँग मेरो रेलमा भेट र कुराकानी हुने गरेकोे थियो । त्यसबेला उसले मलाई यो जानकारी गराएको थियो कि मोरिससमा पनि थुप्रै संख्यामा हिन्दूहरु र हिन्दू धर्मावलम्वीहरु भएको र उनीहरुले पनि नेपालीहरुले जस्तै हिन्दूहरुले मनाउने नवरात्र, दिपावली, कृष्णाष्टमी जस्ता प्रायजसो सबै पर्वहरु धुमधामले मनाउने गर्दा रहेछन् । यो कुरा त्यसैबेला मैले गणेशबाट थाहा पाएको थिएँ । मोरिससमा गणेशको परिवार मध्यम वर्गको भए पनि ऊ साहु ऋण गरेर पाँच वर्ष अगाडि बेलायत आएको रहेछ । उसले त्यसबेला मलाई बताएको थियो । बेलायतमा पैसा कमाउनकै लागि विद्यार्थी भिसामा आए पनि बुढाबुढीले कमाएको पैसा कलेजको फी तिर्न र केटाकेटीलाई पढाउन पनि मुस्किलले पुग्ने हुँदा आफूले बेलायत आउनलाई लिएको ऋण अझै पनि बैंकलाई तिर्न बाँकी रहेको कुरा पनि उसले बारम्बार चिन्तित हुँदै मलाई बताएको थियो । तर त्यसभन्दा पनि चिन्ता उसलाई अर्कै कुराको थियो । गणेशले आफ्नो विद्यार्थी भिसा थप्नको लागि होम अफिसमा आवेदन र सबै कागजातहरु पठाइसकेको भए पनि सात आठ महिना भइसक्दा पनि उसको भिसाको अत्तोपत्तो थिएन । मेरो कतिपय साथीहरुको भिसा एक वर्ष पछि पनि छाप लगाएर आएको मलाई थाहा थियो र म यही कुरा बताएर गणेशलाई आश्वस्त पार्ने गर्थें कि उसको पनि त्यसै गरी ढिलो भए पनि भिसा लागेरै आउनेछ भनेर । 
त्यसैबेला गणेशले बारबार मलाई यो कुरा पनि बताउँदै आएको थियो – “मेरो साथी, तपाइँलाई नढाँटी भन्नुपर्दा मलाई आफ्नो देश छाडेर अन्त कतै जाने इच्छा कदापि थिएन । मलाई त जहाँ जन्मे त्यहीं नै दुख, सुख जेनतेन गरेर भए पनि जीवनको अन्तिम पलसम्म पनि रमाएरै बाँच्ने धोको थियो । तर इन्दिराले मलाई उहाँ बस्नै दिइनन् । खालि सबै जना विदेश गएर करोडौं कमाइसके, हाम्रो भने जीवन यस्तै दुखमै बित्ने भयो भन्थी । इन्दिराको सुख र रमझमको जीवनको महत्वाकांक्षाकै कारण म बलिको बोका जस्तै घिच्चिंदै बिदेशिन बाध्य भएँ । यहाँ पनि सबै ठिकै चलिरहेको थियो, खालि आफ्नो बालबालिकाहरुसँग छुट्टिएर बस्नुपरेको पीडा हो । त्यति ऋण तिर्न सके त म त फर्केर आफ्नै मातृभूमिमा आफ्नो बच्चाहरुसँगै खेल्दै, रमाउँदै बाँकी जीवन गुजार्छु तर यो भिसाले मलाई डुबाउला जस्तो छ ।” पछिल्ला दिनहरुमा ऊ मलाई आफ्नो सुखदुख एक आत्मीय मित्रसँग जस्तै पोख्ने गर्दथ्यो । गणेश अत्यन्तै जिम्मेवार र व्यवहारिक व्यक्तिको रुपमा पाएको थिएँ मैले । 
सुष्मा नेपालबाट फर्केर काम शुरु गरेको एक दुइ दिन पछि नै उनले मलाई एक अनौठो र अनपत्यारिलो समाचार यसरी सुनायी – “दाइ, यो कुरा कसैलाई नभन्नुहोला विशेष गरी गणेशलाई त कुनै हालतमा पनि भन्नु हँुदैन । गणेशको बुढी इन्दिरा त आजकाल त्यो हाम्रो युनिटको त्यो बुढो अफ्रिकन सुपरभाइजरसँग पो लागेको छ रे । प्रत्येक दिन बिहान त्यो बुढोले उनलाई आफ्नै कारमा कामसम्म लिएर आउँछ रे । यो कुरा थाहा पाएर म्यानेज्मेण्टले त्यो अफ्रिकनलाई चाहिं तपाइहरुको युनिटमा सरुवा गरेको रहेछ । तर गणेशलाई भने कसैले थाहा दिएको रहेनछ ।”
“कहाँ गणेश जस्तो माया गर्ने पति अनि तीन जना बच्चाकी आमाले त्यस्तो काम गर्ला र ? खै म त पत्याउन्न तिम्रो कुरा ।” मैले सुष्माको कुरामा अविश्वास जनाएको थिएँ ।
पर्सिपल्ट बिहान काम सकेर घर फर्किने क्रममा काम गर्ने ठाउँभन्दा केही परको कफी पसलमा इन्दिरा र त्यो बुढो म्यानेजर चुम्बन गर्दै गरेको दृश्य आफ्नै आँखाले देखेपछि सुष्मा र म दुबै गणेश र उसका तीन बच्चाहरुको भविष्यको कल्पना गर्दै सशंकीत भएका थियौं । उनीहरु दुइ जनालाई यस्तै अवस्थामा धेरै सहकर्मी साथीहरुले पनि धेरै पटक देखिसकेका रहेछन् । गणेशले यो दृश्य नदेखेको होस् र देख्नु पनि नपरोस् । हामी बाटो भरि यही कामना गर्दै घर पुगेका थियौं त्यस दिन बिहान । 
त्यसै ताका बेलायतको मेट्रो, इभिनिङ स्टान्डर्ड, द सन, डेली मेल जस्ता पत्रपत्रिकाहरु सबै युरोपभरि भयावह रुपमा फैलिएको आर्थिक मन्दीका समाचारहरुले भरिएका हुन्थे । स्पेन र ग्रीसको अर्थतन्त्र धराशयी भएको समाचारहरुले दिनदिनै पत्रपत्रिका र रेडियो, टेलिभिजन र इन्टरनेटहरुमा प्रमुख स्थान पाइरहेको थियो । यस्तैमा युरोपभरि फैलिएको आर्थिक मन्दीले बेलायतलाई पनि नराम्ररी प्रभाव पारिरहेको भन्दै बेलायती सरकारले विदेशीहरुको आगमन र बसाइमा कटौति गर्नका लागि कडा नियमहरु लागू गर्दै जान थाले पछि साहू ऋण गरी बेलायत पसेका प्राय सबैको भविष्य अनिश्चित र असुरक्षित बन्न पुगेको थियो । बेलायती सरकारले मान्यता प्राप्त शैक्षिक संस्थाहरुलाई विभिन्न खोट देखाउँदै उनीहरुको लाइसेन्स खारेज गरिरहँदा विहानसम्म मान्यता प्राप्त सूचिमा रहेका कलेजहरु बेलुकी त्यो सूचिबाट हटिसकेकेका हुन्थे । यसरी विदेशी विद्यार्थीहरु हरेक पल आफ्नो शैक्षिक संस्थाको पनि कुन बेला मान्यता खारेज हुने हो भन्दै सशंकित भएर बस्नु परिरहेको थियो । यस्तो अवस्थामा नयाँ कलेज खोजेर भर्ना हुन महंगो शुल्कको कारण तत्काल सम्भव नहुने र भए पनि त्यो नयाँ कलेजको पनि लाइसेन्स कुन बेला उड्ने हो ठेगानै हुन्नथ्यो । यसै कारण मेरै धेरैजसो साथीहरु स्वदेश फर्किसकेको थिए भने कतिपय साथीहरु अनेक कष्ट र जोखिम झेलेरै कलेजलाई बुझाउने पैसा दलाललाई खुवाएर फ्रान्स, स्पेन, पोर्चुगल आदि युरोपका अन्य मुलुकहरुतिर पसिसकेका थिए । यसरी आफ्नो घरखेत र भएभरको जायज्येथा बेचेर या धरौटी राखेर महत्वाकांक्षी सपनाहरु बोकेर दक्षिण पूर्वी एसिया, अफ्रिका र अन्य गरिब मुलुकहरुबाट चर्को व्याजदरमा ऋण लिएर मोटै रकम खर्च गरेर बेलायत पसेका सबैजनाको सपना चकनाचूर र भविष्य भयावह बन्न पुगेको थियो । ती सबैजसोको लगानी र मेहनत खेर गएको थियो । अन्ततः आफ्नो देशमा पनि सबैथोक गुमिसकेको र सपनाको देशमा पनि उनीहरुलाई टिक्नै नदिइएपछि सबैजना घर न घाटको हुन पुगेका थिए । 
यस्तैमा गणेशको भिसा पनि होम अफिसबाट अस्वीकृत भएर आइसकेको थियो । गणेश पनि पूनः भिसाको लागि आवेदन दिने या मोरिसस नै फर्किने भन्ने दोधारमा थियो । भन्छन् मानिसको जीवनमा विपत्ति एक्लै आउँदैन, बटालियनमा आउँछ । गणेशको जीवनमा पनि यस्तै भएको थियो । श्रीमतिको अर्कैसँग चक्कर चलिरहेको बेलामा बेलायतको भिसाले पनि उसलाई साथ दिएन । शायद बिरानो माटोमा भएर होला, उसको आफ्नै मान्छे पनि पराइ भएको थियो, तर गणेशलाई यो कुरा थाहा थियो कि थिएन, यो कसैलाई पनि थाहा थिएन । 
त्यसै बेलामा यौटा अर्कै राम्रो कम्पनिमा मलाई काम मिलेकोले मैले त्यो काम छाड्नुप¥यो । नयाँ काममा प्रारम्भिक तालिम, गोष्ठि अनि नयाँ काम सिक्न र नयाँ ठाउँमा घुलमिल हुन दुइ तीन महिना नै लाग्यो मलाई । त्यस अवधिमा मैले सुष्मा, सविना र अन्य पुराना सहकर्मी साथीहरुसँग कुनै पनि प्रकारको संचार सम्पर्क गर्न सकिन । त्यसो त नयाँ ठाउँमा मैले पाँच, छ दिन नै काम गर्नु परेकोले पनि म निकै व्यस्त रहन पुगें । मैले पहिलेको काम छाडेको त्यस्तै चार महिना पछि एक दिन सुष्मा बहिनीले मलाई फोन गरेकी थिई । त्यसैबेला मैले उनलाई गणेशको बारेमा पनि सोधेको थिएँ । उनले आश्चर्य व्यक्त गर्दै भनेकी थिई ।
“लौ दाइ, तपाइँलाई अझसम्म पनि थाहा छैन र ? गणेश त भिसाको समस्याले गर्दा दुइ महिना अघि नै आफ्नै घर मोरिसस् फर्किसक्यो नि ।”
“ए, अनि इन्दिरा पनि ऊ सँगै फर्कियो कि ?” मैले इन्दिराको बारे पनि जान्न खोजें ।
“कहाँ फर्किनु नि दाइ, तपाइँ पनि ट्युबलाइट नै हुनुहुँदोरहेछ, अझसम्म पनि केही कुरा थाहा नपाउने । इन्दिरा त त्यही अफ्रिकन सुपरभाइजरसँग विवाह गरेर उसैसँग बसेकी छे नि यही बेलायतमै । तर दुवैजनाले हाम्रो कम्पनिमा काम भने छोडिसकेका छन् । अस्ती एकजना मोरिससको केटीले मलाई भन्दै थिई कि उसले त त्यो सुपरभाइजरको श्रीमतिको रुपमा बेलायतमै रहनका लागि होम अफिसमा आवेदन दिएर स्वीकृत पनि भइसकेको छ रे । अब उनलाई भिसाको कुनै समस्या नै रहेन । खालि गणेशले मात्र सबैथोक त्याग्नुप¥यो ।” सुष्माले उनीहरुको बारेमा आफूलाई थाहा भएको सबै मलाई वृत्तान्त बताई ।
सुष्माले इन्दिराको बारेमा बताएको कुरा पूरै अनपेक्षित त थिएन तर पनि इन्दिराले गणेशलाई यतिसारो धोका देला भन्ने चाहिं कदापि सोचेको थिइनँ ।
सोझो र इमान्दार हुनु पनि अभिशाप नै रहेछ यो स्वार्थी संसारमा । विचरा गणेश दुख सुख गरी मोरिससमा रमाइ नै रहेको थियो । श्रीमतिकै करकाप र जिद्दीमा परेर आफ्नो घर परिवार, बालबच्चा सबै छाडेर अनि अलि अलि भएको घरजग्गा पनि धरौटीमा राखेर बेलायत आएको मान्छे । बेलायतमा आफ्नी श्रीमति पनि गुमाएर रित्तो रित्तो हात एक्लै घर फर्किनु प¥यो । 
विचरो गणेशले आफ्नो बच्चाहरुलाई उनीहरुको आमाको बारेमा के जवाफ दियो होला ? आफ्नो परिवार र छिमेकीको सामना कसरी ग¥यो होला ? यस्तै यस्तै गणेश सम्बन्धि प्रश्नहरु सम्झँदै मेरो मन बेलाबेलामा अझै पनि झस्किरहन्छ ।

दोलखा, नेपाल


Tuesday, 4 October 2011

हराएको साथी (कथा)

                                                                                                                    –  श्रेष्ठ सत्य
“ओइ काले उठ अब, कति सुति रा, तिमी ?” हर विहान शंकर मेरो कोठामा आएर मलाई यसरी नै ब्युँझाउने गर्दथ्यो । शंकर एकाबिहानै आफ्नो सुरुवालको गोजीभरि भुटेको मकै भटमास हालेर चपाउँदै मेरो कोठामा आउने गथ्र्यो । म उसलाई भन्ने गर्थें “ह्या एकछिन सुत न तँ पनि, आइज ।” “ए अल्छि, कुम्भकर्ण, त्यहाँ कक फाइटमा बजारका केटाहरुले हामीलाई हराउन लागिसके तँ भने अझै सपनामै मस्त होइन ? खुरुक्क उठेर गोजीमा भुटेको मकै थोरै अनि धेरै भटमास हाल अनि हामी हिंडिहाल्ने, तिनीहरुसँग भिड्न ।” मलाई शंकर यसरी नै हर बिहान उठाएर लिएर हिंड्थ्यो । अनि आमाले खाना खान नबोलाएसम्म हामी विभिन्न खेल खेल्नमा व्यस्त रहन्थ्यौं । उसको नाम शंकर भए पनि हामीहरु सबै उसलाई “ड्वाकु बाबु” भनेर बोलाउने गथ्र्यौं । त्यसो त हामी साथी साथीहरुबीच वास्तविक नाम भन्दा पनि बिनामले नै एकार्कालाई बोलाउने चलन थियो । बिनाम पनि एकवटा मात्र हुन्थेन, कतिपय साथीहरुको त १०, १२ वटासम्म पनि बिनाम हुने गर्दथ्यो । कयौंपटक त बिनामकै कारण पनि साथी साथीबीच झगडा पनि भइरहन्थ्यो ।
खेल्दा खेल्दै आमाले खाना खान बोलाउन थालेपछि स्कूल जानुपर्ने भयले मुटु फुलेर आउँथ्यो । अनि म लगायत शंकर, पूर्ण, खड्गे आदि साथीहरु स्कूल नजानका लागि उपयुक्त बहाना सोच्नतिर लाग्थ्यौं । कयौं पटक हाम्रो बहानाले काम पनि गथ्र्यो भने धेरैपल्ट त हामी हार्दै स्कूल जानुपर्ने हुन्थ्यो । हामीलाई घरदेखि स्कूलसम्म पु¥याउन हाम्रो अभिभावकले हाम्रो ठूलै प्रतिरोधको सामना गर्नुपर्ने हुन्थ्यो । शंकर आदि साथीहरु स्कुलको गेटबाट भित्र पसेपछि बिस्तारै स्कूलको दैनिक क्रियाकलापमा सहभागी हुन्थे भने म भने आमालाई पनि मसँगै कक्षामा बस्न जिद्दि गर्दै रुन्थें । आमा सधैं मेरो आँखा छलेर कुन बेला घर जानुहुन्थ्यो मैले पत्तै पाउँदिनथें । बेलुकी स्कूल छुट्टि भएपछि म घर पुगेर किताबको झोला फ्याँकेर खाजा खाई नसक्दै शंकर पूनः मलाई बोलाउन आइपुग्थ्यो । त्यसपछि हामी कहिले पाखलतीको पोखरीमा पौडी खेल्न जान्थ्यौं, कहिले मन्देश्वरीमा सुतुतु खेल्न त कहिले अमला टिप्न मलेपुसम्म पनि पुग्ने गथ्र्यौं । बेलुकी घर पुगेर आँत्तिंदै होमवर्क गरिभ्याएर सुत्न हतारो हुन्थ्यो हामीलाई ।
शंकर र मेरो घर जोडिएको थियो । त्यसताका दोलखा बजारमा सबैभन्दा पुरानो र ठूलो घर हाम्रो नै थियो । त्यसै घरको ठूलो आँगनमा खेल्नको बदला हामी आसपासको जंगल, चउर र नदि, खोल्सामा घुम्न र खेल्न रमाउँथ्यौं । वरपरका केटाकेटीहरु खेल्न हाम्रो आँगनमा आउँथे भने म र शंकर भने कता कता पुग्थ्यौं । यसरी प्रकृतिसँग खेल्नमै हामीलाई सा¥है आनन्द लाग्ने गर्दथ्यो । प्राय शनिबारको दिन नुहाउनका लागि अन्य साथीहरु नजिकैको राइती या वतिचामा भीड लाग्न जान्थे भने म र शंकर नुहाउनका लागि कहिले प्वाटाँगा, कहिले चाथली, कहिले दोल्ती खोला त कहिले सुष्पासम्म पनि पुग्ने गथ्र्यौ । हामी नुहाएर घर फर्किंदा साँझ परिसकेको हुन्थ्यो । बिदाका दिनहरुमा पनि हामी कहिले चरिकोट जाने बाटै बाटो हिंडेर दोलखा र चरिकोटबीचको जंगलमै खेलेर बस्थ्यौं त कहिले माथि रिजरभ्वायरसम्म पुग्थ्यौं, कयौंपटक हामी दुइजना कालिन्चोक र सुन्द्रावती जाने भनी जान्थ्यौं र बीचमा बाटो नचिनेर फेरि घरतिर फिर्ता हुन्थ्यौं ।
शंकर आफ्नी आमा र एक भाइको साथमा बस्थ्यो भने उनको दुइटै दिदीहरुको विवाह भइसकेको थियो । शंकरको बुबा भने भारतमा काम गर्नुहुन्थ्यो भन्ने गर्थे । हामी दुइजना यसरी घुमिरहँदा शंकर कहिलेकाहीं अचानक निकै चिन्तित हुन्थ्यो र ऊ भन्ने गथ्र्यो – “काले, मलाई हाम्रो यो दोलखाको समाज र यहाँका मान्छेहरुसँग त वाक्क दिक्क लाग्छ तर यो ठाउँ र तिम्रो भने सा¥है मायाँ लाग्छ । तिमी र यो ठाउँलाई छाडेर बाँच्नुप¥यो भने म त पलपल मर्छु होला ।” शंकर सानै भए पनि कहिलेकाहीं पाको कुरा गथ्र्यो, उसको त्यस्तो कुराले मेरो बाल्यमस्तिष्कमा पनि छुट्टै प्रकारको छाप पर्ने गथ्र्यो । म उसलाई भन्ने गर्थे , “ड्वाकुबाबु, तिमी किन यस्तो कुरा गर्छौ, तिमी किन यो ठाउँ र मलाई छाड्ने कुरा गर्छौ, त्यस्तो दिन पनि यो धर्तीमा कहिल्यै आउला र ?” ऊ गम्भीर भएर मलाई भन्ने गथ्र्यो – “तिमी कसैलाई नभन्ने भए यौटा कुरा म तिमीलाई भन्छु, हामीलाई बाबाले इण्डियामा बोलाइराख्नुभएको छ तर आमा अहिलेसम्म मान्नुभएको छैन नि । ” यही कुरा शंकर हरेक एक दुइ महिनामा फेरि फेरि दोहो¥याइरहन्थ्यो । शुरु शुरुमा शंकरको कुरा सुन्दा म चिन्तित हुन्थें, शंकर बिना मेरा दिनहरु कस्ता हुने होलान् भन्ने सोचेर म एक्लै बस्दा सधैं टोलाइरहन्थें तर शंकरले यस्तो कुरा दोहो¥याइरहँदा, शंकरको आमाले जुनसुकै हालतमा पनि उसको बुबाको प्रस्ताव स्वीकार्नुहुन्न भन्ने कुरामा म ढुक्क हुँदै गइरहेको थिएँ ।
शंकरको बुबा कस्तो होला भनेर मलाई जहिल्यै देख्न मन लाग्थ्यो । उहाँ कहिले काहीं घर आउने भए तापनि मैले कहिल्यै उहाँलाई देख्ने मौका पाइनँ । शंकरलाई म जहिल्यै जिस्काउँथें “ तिमी मलाई आफ्नो बाबा कहिले देखाउँछौ ?” भनेर । ऊ पनि “बाबा आउने बित्तिकै म तिमीसँग भेट गराउँछु” भनेर खुशीका साथ भन्थ्यो । दशैं भर्खरै सकिएको थियो, खड्गजात्रा (दशैंको एकादशी) सकिएको एक दुइ दिन पछि शंकर र म अम्बा टिप्न भनी तामाकोशीतर्फ जाँदै थियौं । बाटोमा शंकरले मलाई बाबाले ल्याएको भनेर २ वटा सुन्दर मिठाइहरु दिएको थियो । मैले खुशी हुँदै भनेको थिएँ “ए त्यसो भए भरे तिम्रो बाबालाई भेट्ने है त ?” शंकरले भुइँतिर निहुँरिंदै भनेको थियो – “उहाँ त फर्किसक्नुभयो ।” “फर्किसक्नुभयो रे ? तिमी गफ नलगाऊ न, तिमीले नै आउने बित्तिकै मलाई तिम्रो बाबा देखाउँछु भनेको होइन ?” मैले आक्रोश र आश्चर्य एकैपटक पोखेको थिएँ शंकरसँग । “त्यो त हो तर....” शंकर अन्यौलमा थियो । “ के तर ? तिम्रो बुबालाई म खान्न त ?” म झर्केको थिएँ । शंकर अँधेरो मुख पारेर बोलेको थियो “खान्छौ भनेर होइन, उहाँले कसैलाई भेट्न मिल्दैन रे । तिमीले कसैलाई नभन्ने भए मात्र म तिमीलाई यो कुरा गर्छुु ।” मैले बाचा गरे पछि उसले भनेको थियो “मेरो बुबालाई हाम्रो आफ्नै मान्छेहरुले झूटा मुद्दामा फँसाएका छन् रे त्यसैले प्रहरीले उहाँलाई खोजेको खोज्यै छन् रे । त्यसैले उहाँले कसैलाई भेट्न मिल्दैन रे । उहाँ हिजो राति लुकिछिपी घर आएर आज बिहानै फर्किसक्नुभयो । ” मैले शंकरले भनेको सबै कुरा नबुझे पनि उसको बुबाले कसैलाई भेट्न नमिल्ने रहेछ भनरे बुझें । शंकरले त्यसै क्रममा बताएको थियो कि उसको बुबा कुनै पनि हालतमा दोलखामा आउन नमिल्ने भएकोले परिवार साथमा रहनका लागि उनीहरु नै भारततर्फ जानुपर्ने हुनसक्थ्यो कुनै पनि बेला ।
त्यस दिन देखि नै शंकरलाई मैले कुनै पनि दिन छोड्नै पर्ने अवस्थाको कल्पना गर्न थालेको थिएँ । म उसलाई बेलाबेलामा सोध्थें
“ड्वाकुबाबु, केही गरी तिमी मलाई छोडेर जानै प¥यो भने के गर्ने होला ? ”
“एक त त्यस्तो अवस्था नै आउँदैन यदि आइहाल्यो भने म तिमीलाई पनि साथै लगेर जान्छु, हुन्न ?” शंकर सहजै यस्तो उत्तर दिन्थ्यो । म शंकरसँगै आफू पनि भारत गएको कल्पनामा हराउन पुग्थें । तापनि दोलखा भन्दा सुन्दर ठाउँ संसारमा कतै पनि होला भन्ने हामी दुवै जनालाई लाग्दै लाग्दैनथ्यो । शंकर भन्ने गथ्र्यो “हामी ठूलो भए पछि तिमी र म, यहाँ होइन, यी मानिसहरु कोही नभएको तर आसपासको रमाइलो ठाउँ शैलुङ या कालिन्चोक, टुटानको वरपर या गौरीशंकरको आसपास कतै हामी छुट्टै घर बनाएर बस्ने ल ?” म शंकरको हो मा हा मिलाउँथें । यसरी नै शंकरसँग बस्दा, खेल्दा, डुल्दा समय कसरी बित्छ पत्तै हुँदैनथ्यो । शायद अन्य साथीहरु र छिमेकीहरु हामी दुइजनाको मित्रता देखेर इष्र्याले जल्थे पनि होलान् तर त्यतातिर ध्यान दिने हामीलाई फुर्सदै भएन । यसरी नै समय बितिरहेको थियो, हामी बढ्दै गइरहेका थियौं र जेनतेन पास गरेर भए पनि हामी कक्षा पाँचमा पुगिसकेका थियौं ।
फागु पूर्णिमाको अघिल्लो रात धेरै अबेरसम्म होली खेलेर भोलिपल्ट बिहानै सबैजना जम्मा भएर होली खेल्ने बाचा गर्दै छुटेको शंकरलाई भोलिपल्टदेखि मलाई एकाबिहानै बोलाउन कहिल्यै आउनु परेन । त्यही रात हाम्रो र हाम्रो घरसँगै जोडिएको शंकरको घर पनि जलेर हाम्रै आँखाको अगाडि खरानीको थुप्रोमा परिणत भएको थियो । त्यस रातको दुइ बजे देखि नजिकैको घरेलुको प्रांगणमा बसेर निरिह भई आगोमा दनदन जलिरहेको आफ्नो घरतर्फ टुलुटुलु हेरिरहँदा मैले मेरो र शंकरबीचको मित्रता र सँगै बुनिएका सारा सपनाहरु पनि त्यही आगोमा स्वाहा भएको त अनुमान पनि गरेको थिइन ।
वर्षौदेखिको हाम्रो बासस्थान खरानीमा परिणत भए पछि हामी मावलीमा गएर बस्न थाल्यौं भने शंकरको परिवार त्यसको ४, ५ दिन पछि नै भारततर्फ लागे भन्ने सुनियो । त्यसै रात नै शंकर र मेरो मिलनको अन्तिम रात रहेछ । त्यसपछि शंकरको र मेरो कहिल्यै भेट भएन । म कक्षा आठमा पढिरहँदा शंकर २ दिनका लागि दोलखा आएको रहेछ तर ऊ मलाई नभेटिकनै फर्किसकेको रहेछ मैले यो खबर थाहा पाउन्जेल । त्यसैगरी मैले काठमाडौंमा प्रवीणता प्रमाणपत्र तह पढिरहँदा शंकर आमासँगै एक महिनाका लागि दोलखा आएको रहेछ सोही बेला आफ्नो घरबारीहरु सबै बेचेर उनीहरु फेरि पनि भारत फर्केका रहेछन् । दशैंको बिदामा कलेज छुट्टि भएर दोलखा जाँदा मैले यो खबर पाएको थिएँ । त्यसपछि शंकरको केही अत्तोपत्तो पाउन सकिन ।
मलाई लाग्छ शंकरले त सायद मलाई बिर्सिसक्यो होला तर शंकरलाई सम्झेर मलाई भने अझै पनि बेलाबेलामा त्यही बाल्यकालमा फर्किन मन लाग्छ ।
दोलखा, नेपाल
हाल,
बेलायत